जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ गड्सेरालाई
कार्तिक १७, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ गड्सेराले हात पारेको छ ।
जोरायल गाउँपालिकाको सहयोगमा यही कार्तिक १५ देखि १७ गतेसम्म सञ्चालित प्रतियोगितामा जोरायल गाउँपालिका वडा नम्बर ३ रावतकट्टेको टीमले दोश्रो स्थान हात पारेको छ ।
त्यस्तै वडा नम्बर ६ को टीमले तृतीय स्थान हात पारेको छ भने वडा नम्बर ४ को टीमले चौथो स्थान हात पारेको आयोजक युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवनकुमार शाहुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु. २५ हजार, ट्रफी, मेडल र प्रमाण-पत्र, दोस्रो हुने टीमलाई नगद रु. १५ हजार, ट्रफी, मेडल र प्रमाण-पत्र , तृतीय हुने टीमलाई नगद रु. १० हजार, ट्रफी, मेडल र प्रमाण-पत्र साथै सान्त्वना अर्थात चौथो हुने टीमलाई नगद रु ५ हजार र ट्रफी प्रदान गरिएको छ ।
जोरायल गाउँपालिका ३ रावतकट्टे स्थित रत्न आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा जोरायल गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका ६ वटा टीमको सहभागीता रहेको थियो ।
खेल प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइएको थियो ।
यसैबीच प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ५ का रुपेश बिष्ट भएका छन् ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझा र विशिष्ट अतिथी जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा र डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट रहेका थिए ।