डोटीको जोरायल गाउँपालिका १ मा एमालेको पूरै टिम विजयी

2,030

बैशाख ३१, (जोरायल) डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा एमालेको पूरै टिम विजयी भएको छ ।
शुक्रबार राती १ बजेदेखि शुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेले वडाको अध्यक्षदेखि सदस्यसम्म पूरै टिम जितेको हो ।
मत परिणाम अनुसार वडा अध्यक्षमा एमालेका उम्मेदवार जगत बहादुर मल्ल ६०१ मत सहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार मोहन बहादुर मल्लले ३४२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वडा अध्यक्ष पदका उम्मेदवार बम बहादुर मल्लले १०३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार टेक बहादुर मल्लले ७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्य पदका एमाले उम्मेदवारहरु गम बहादुर खत्रीले ५७९ मत, दल बहादुर थापामगरले ५५३ मत, महिला सदस्य पदका उम्मेदवार इन्द्रा देवी ओलीले ५७१ मत र दलित महिला सदस्य पदका उम्मेदवार लक्ष्मी देवी कामीले ५६९ मत प्राप्त गरि विजय हासिल गरेका छन् ।
कुल मतदाता संख्या १५७८ रहेकोे वडा नम्बर १ मा ११४५ मत खसेको थियो । जसमध्ये १७ वटा मत बदर भएको छ ।
उक्त वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा पनि नेकपा एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ ।
एमालेबाट अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझाले ४८६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार दीपक कुमार बिष्टले २९४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार किरण मल्लले २९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेबाट उम्मेदवार जमुना कुमारी बोहराले ५४३ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्रा कुमारी साउँदले ३४० मत र नेकपा माओवादी केन्द्रका प्रेमा कुमारी ओलीले १५० मत प्राप्त गरेका छन् ।
जोरायल गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् भने नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।
त्यसैगरि वडा नम्बर २ को मतगणना पनि जारी रहेको छ । वडा नम्बर २ मा निकै प्रतिस्पर्धात्मक अवस्था रहेको जनाइएको छ ।
मतगणना दुई स्थलमा भैरहेको र वडागत रूपमा क्रमशः १ देखि ६ सम्मको मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालय जोरायलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.