मनोविज्ञान, क्रान्ति र उपलब्धीहरु

678

– मिन बहादुर रोकाया

क्रान्ति र मनोविज्ञान दुवै के हुन ? भन्ने कुरा नै उल्लेख नगरीकन यी दुइटाको अन्तर सम्बन्धको कुरा गर्नु त्यति सान्दर्भिक नहोला । सामान्यतया क्रान्तिले पूरानो व्यवस्था, विधिविधान र सरकारको पूर्ण परिवर्तनलाई जनाउँछ । कुनै पनि मुलूकमा न्याय, सदाचार, असमानता, विकास, अधिकार र सहभागिताका लागि क्रान्तिहरु हुने गर्दछन् । लेनिनको भनाइमा– ‘क्रान्ति भनेको सम्झौताको अन्त्य गर्नु हो । यसको मतलब हुन्छ समाजवादी क्रान्तिको बाटो पकड्नु ।’ उहाँको थप भनाई छ– ‘क्रान्तिको प्रमुख काम भनेको राज्यसत्ता प्राप्त गर्नु हो ।’
मनोविज्ञानलाई पनि सामान्य अर्थमा मनको विज्ञान भन्ने गरिन्छ । मानिसले आफ्नो बौद्धिक क्षमताका कारणले विभिन्न पदार्थ, तथ्य, घटना र विषयका बारेमा जानकारी प्राप्त गर्ने र त्यसका आधारमा क्रियाकलापहरु गर्ने र व्यवहार देखाउने गर्दछ । यी नै मानवीय क्रियाकलापहरु र त्यसका व्यवहारहरुको अध्ययन गर्ने विधालाई मनोविज्ञान भनिन्छ । मनोविज्ञान दर्शनको शाखा हो । दर्शन ज्ञानप्रतिको अनुराग वा प्रेम हो ।
क्रान्ति र मनोविज्ञानबीच एकआपसमा अन्योन्याश्रित सम्बन्ध प्रस्टै रुपमा झल्किरहेको हुन्छ । क्रान्ति गर्नुपर्छ भन्ने पारिएछ भने क्रान्ति त हुने नै भयो । क्रान्ति विनाअर्थ उपज हुने कुरा नै होइन । जब प्रतिकुल वातावरण सिर्जना हुनपुग्छ तब क्रान्तिको विजारोपण स्वतः हुनपुग्छ । सचेत मष्तिस्कमा परिवर्तका तरंगहरु छचल्किन पुग्दा मष्तिस्कमा उल्झन पैदा भइ व्यक्तिको व्यवहार परिवर्तन हुनपुग्छ । जुन परिवर्तन मनोवैज्ञानीक क्रान्तिका कारण उत्पन्न भएको हो । मनोविज्ञानमा आउने परिवर्तनले भौतिक वा सांकेतिक जस्तोसुकै क्रान्तिको सम्भावना रहने भएकाले क्रान्ति र मनोविज्ञानलाई एकैसाथ बुझेर लैजानु हिजोको मात्र आवश्यकता होइन त्यो आजको आवश्यकता पनि हो, जसले दिगो विकास, शान्ती र सु–व्यवस्था कायम गर्न सहयोग गर्दछ ।
परिवतर्नको अपेक्षा गरेर क्रान्तिलाई माध्यम बनाएर अगाडी बढेका मुलुकहरु विश्वमा धेरै छन् । जुन मुलुकहरुले आफ्नो आगामी समयमा आफूसंग न्याय, शान्ति, सदाचार, समानता, विकास, अधिकार र सहभागिताको सम्भावना देख्ने मनोविज्ञान सफल भएकै कारणले क्रान्तिहरु सफल भइ प्रगतिको पथमा लम्किरहेका छन् । यसै सन्दर्भमा केही मुलुकहरुका क्रान्तिका उदाहरणहरुलाई प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ ।
सन १६८० को बेलायतका राजा जेम्स द्वितीयको निरंकुश दमनको विरुद्धमा भएको गौरवपूण क्रान्तिको कुरा होस् वा सन १७७५ देखि १७८३ सम्मको अमेरिकाको स्वतन्त्रता संग्रामको घटना किन नहोस् । जहाँका मिश्रित बासिन्दाहरुले स्वाधिनता र स्वतन्त्रताका लागि बाह्य मुलुकहरुसंग संघर्ष गरेका थिए ।
त्यस्तै सन १९१७ तिर रुसमा भएको जनक्रान्ति विश्व राजनीतिक इतिहासमा निकै चर्चित मानिन्छ । यस जनक्रान्तिका कारण रुसमा जार शासकको अन्त्य भइ त्यहाँको विभेद, दमन, शोषण, निरंकुशता र असमानताको अन्त्य हुनुको साथै त्यहाँ सर्वहारा वर्गको सत्ता स्थापित भएको थियो । बेलायत, अमेरिका र रुस जस्तै चीनमा पनि साम्यवादी शासन व्यवस्था स्थापित नहुन्जेलसम्म प्रशस्त राजनीतिक उतारचढावहरु भइ नै रहे । जसका कारण सन १९४९ मा चीनमा साम्यवादी गणतन्त्रात्मक शासन व्यवस्थाको सूत्रपात भयो । देशमा माओले २७ वर्षसम्म राष्ट्राध्यक्षको रुपमा शासनभार सम्हालेर सन १९७६ मा ८३ वर्षको उमेरमा देह त्याग गरे । जब साम्यवादी शासनव्यवस्था स्थापना भयो तब मात्र चीनमा पनि सर्वहारा वर्गको सत्ता स्थापित भयो । यही सत्ता स्थापित गर्नका लागि माओले निकै ठूलो प्रयत्न गर्नु परेको थियो । सामान्यतया युद्ध रणनीतिमा शत्रु बलियो भए आफू पछि हट्नुपर्छ, शत्रु थाकेको बेला आफूले आक्रमण गर्नुपर्छ । युद्ध गर्दा विस्तार विस्तार गर्नुपर्छ, एकै पटक चर्को युद्ध गर्दा कि त हार या जित हुन्छ त्यसैले परिस्थति विचारेर मात्र युद्धको गति कायम गर्नुपर्दछ भन्ने माओको गतिलो धारणा पाइन्छ । चीनको राजनीतिक ईतिहासमा ३० वर्षसम्मको अथक युद्ध, राजनैतिक रणनीति र संघर्षका परिणामबाट चीन आज कम्यूनिष्ट मुलुकको रुपमा परिचित छ ।
नेपालमा पनि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना नहुजेलसम्म पटक पटक विभिन्न रुपमा क्रान्तिका मुठ्ठीहरु कस्ने कामहरु भइ नै रहे । सामान्यतया वि. सं. १९०३ देखि वि.सं. २००७ सालसम्मको जहाँनिया राणाशासनको अन्त्यका लागि भएका आन्दोलनहरु, वि.सं. २००७ साल देखि २०१७ साल सम्मको संसदिय कालमा पनि हावी भएका दलिय स्वार्थका विरुद्धका आन्दोलनहरु, वि.सं. २०४६ सालसम्मको ३० वर्षे निरंकुश निर्दलिय पञ्चायती व्यवस्थाको विरुद्धका आन्दोलनहरु, वि.सं. २०४६ सालको जनआन्दोलन, वि.सं. २०६२/२०६३ सालको १९ दिने जनआन्दोलन र वि.सं. २०५२ साल देखि २०६२ सालसम्म देशमा चलेको शसस्त्र माओवादी जनयुद्ध आदि सबै क्रान्तिका उदाहरणहरु हुन् । देशमा लामो समयसम्म भएका यी युद्ध र क्रान्तिका कारण देशमा प्रशस्त उपलब्धिहरु प्राप्त भएका छन् । देशबाट राजतन्त्रको अन्त्य, देशमा गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र, सामाजिक न्याय, शान्ति, जनताबाट निर्वाचित जनप्रतिनीधिको प्रत्यक्ष सहभागितामा नयाँ संविधान र संघीय राज्य स्थापना आदि प्रमुख उपलब्धिहरु मानिन्छन् ।
विश्वमा परिवतर्नका लागि भएका क्रान्तिहरु सबै उदाहरणीय देखिन्छन् । क्रान्ति राज्य सत्ता प्राप्तिको आधार पनि हो । विद्यमान राज्य सत्ता जनताको पक्षमा छैन । त्यहाँका बहुसंख्यक जनताहरु शोषण, दमन, अन्याय, अत्याचार, अभाव, रवाफ र उत्पिडनमा छन् भने जनताको मनोविज्ञान नै राज्यप्रति नकारात्मक बन्दै जान्छ । सो मनोविज्ञानले त्यस सेरोफेरोमा नयाँ दर्शनको पैदा गराउने र क्रान्ति सिर्जना गर्ने गर्दछ । यही सिद्धान्तको जगमा आज विश्वका विभिन्न मुलुकहरुमा पूराना राज्य सत्ताहरु ध्वस्त भइ जनताका पक्षमा नौला सत्ताहरु स्थापित भएका छन् । जनताको पक्षमा स्थापित भएका राज्य शक्तिहरुका कारण ती मुलुकहरुमा समावेशिता, लैङ्गिक विभेदको अन्त्य, मानवअधिकारको प्रत्याभूति, सुरक्षा, रोजगारी, शान्ति सु–व्यवस्था, कानुनी राज्य र विधिको शासनको प्रशस्त अनुभवहरु गर्न पाइरहेका छन् । यसका साथै त्यहाँको आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक क्षेत्रमा पनि प्रयाप्त मात्रामा प्रगति हुँदै गइरहेको पाइन्छ ।
नेपालको राजनीतिक इतिहासमा पछिल्लो समयमा नेपाली जनताहरुले जेजति उपलब्धिहरु प्राप्त गरेका छौं, ती सबै सामान्य र सजिलै ढंगले प्राप्त भएका पनि हुँदै होइनन् । हजारौं नेपाली जनताको कठोर त्याग, तपस्या र ज्यानको बलिदानी बाट मात्र सम्भव भएको हो । हामी राम्ररी प्रशिक्षित के छौं भने हामीलाई प्राप्त हुनेगरी हाम्रो हातमा वर्तमान समय सुम्पने अग्रजहरु हाम्रा पूजनिय व्यक्तित्वहरु हुन् । उनिहरुको महान बलिदानीबाट १०४ वर्षे जहाँनिया राणाशासनको अन्त्य भएको छ, ३० वर्षे पञ्चायती व्यवस्थाको समूल नष्ट भएको छ, अढाइ सय वर्ष पूरानो राजतन्त्रको अन्त्य भएको छ र देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको थालनी भएको छ । राणाहरुको जहाँनिया शासन, निर्दलिय पञ्चायती शैली, राजतन्त्रको हुकुमी शैलीका कारण पीडा बोध गरी उत्पिडनबाट फुत्किन खोजेका र स्वतन्त्र जीवन बाँच्न चाहेका हाम्रा मनोविज्ञानहरु आज निकै सफल र विश्व सामु उदाहरणीय बनेका छन् । अन्याय सहनु हुँदैन, पीडाबाट मुक्ति पाउनुपर्छ, समानता चाहिन्छ, दमन, शोषण, अत्याचार अपमान, भ्रष्टाचार र घुसखोरीको अन्त्य हुनुपर्छ, जीउ ज्यानको सुरक्षा, रोजगारीको सुनिश्चितता, लैङ्गिक समानता र मानव अधिकारको प्रत्याभूति हुनुपर्दछ भनि हाम्रो मनाविज्ञान अघि सर्यो र त्यसले दर्शनको रुप लिएकै कारण हामी हाम्रो अनुकुलको राज्य सत्ता प्राप्त गर्न सफल भएका छौं ।
आजका सत्ताधारीहरुले र भोलिको सत्ताको मोह राख्नेहरुले थप सफल बन्नका लागि दिनप्रति दिन राष्ट्रको आवश्यकता र जनताको चाहाना अनुसार आफूलाई स्थापित गर्न सक्नुपर्दछ । नेता र नेतृत्व युगानुकुल बन्दै अघि सर्नुपर्दछ । अब जनताहरुले क्रान्ति मात्रै कति पो गर्लान र ? सायद अब परिवर्तनकै लागि जनताहरुलाई क्रान्तिमा होमिन बाध्य गराउने दिनहरु आउने छैनन् र आउन दिनु पनि हुँदैन । यसका लागि राजनैतिक मनोविज्ञानको अध्ययन नितान्त आवश्यक छ । समयलाई राम्ररी बुझी सकारात्मक मनोवैज्ञानिक वातावरणको सिर्जना गर्नसक्ने सफल र कुशल नेतृत्व राजनीतिक क्षेत्रमा स्थापित हुन सके मुलुकले पुनः पुनः परिवर्तनका लागि क्रान्ति गरिरहनु पर्दैन । देशमा अमन, चैन कायम रहन्छ र रानीतिक अस्थिरताको अन्त्य हुन्छ । मुलुकबाट राजनीतिक अस्थिरताको अन्त्य भएमा मात्र त्यहाँ विकासको सम्भावना रहन्छ र समृद्धि हासिल हुन्छ ।
(लेखक श्री घण्टेश्वर माध्यमिक विद्यालय जोरायल डोटीका शिक्षक हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.