आगामी निर्वाचनको चिन्ताले काँग्रेस ‘बाखरे निन्द्रा’मा छ – नेकपा अध्यक्ष मल्ल

839

असोज १०, डोटी ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डोटी जिल्ला अध्यक्ष चक्र मल्लले प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले नेकपाले जितेका ठाउँमा आगामी निर्वाचनमा कसरी जित्न सकिन्छ भनेर ‘बाखरे निन्द्रा’ (आँखा खुल्लै राखेर बाख्रा निदाए जस्तो) मा रहेको बताएका छन् ।
नेकपा दिपायल सिलगढी नगर संगठन कमिटिको बैठक तथा जनप्रतिनिधी र कार्यकर्ताबिच अन्तरक्रिया कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै यस्तो बताएका हुन् ।
जम्मा ९ वटा स्थानीय तह, प्रदेशमा क र ख गरी २ वटा निर्वाचन क्षेत्र र संघमा एउटा निर्वाचन क्षेत्र भएको डोटीमा नेकपाले जितेका स्थानीय तह र निर्वाचन क्षेत्र आगामी निर्वाचनमा कसरी जित्न सकिन्छ भनेर काँग्रेसलाई भोकनिन्द्रा नभएकाले अहिलेबाटै नेकपा विरुद्ध योजना बनाएर लागिरहेको भन्दै ‘बाखरे निन्द्रा’को संज्ञा दिएका हुन् ।
यस्तो अवस्थामा नेकपाभित्र गुट, उपगुट, घात, अन्तरघात, शंका, उपशंका र वादविवादको अन्त्य गरी पार्टी संगठन निर्माणमा लाग्नुपर्ने नेकपा अध्यक्ष मल्लले बताए ।

वक्ताहरुका आफ्नै कुरा
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पार्टीभित्रैका वादविवाद, जनप्रतिनिधीका व्यवहार, नेता–नेता, नेता–कार्यकर्ताका व्यवहारकै विषयमा समय खर्च गरेका छन् ।
कार्यक्रम शुरु गर्नुपूर्व सहभागिहरुबिच पार्टीको सिद्धान्त र विचार बारे धाराणा राख्ने मनसाय भए पनि कार्यक्रमका वक्ताहरुका कुरा सुन्दा नेकपाका नेता कार्यकर्ताका चरित्रलाई व्यङ्ग्य गर्दै नेकपा डोटीका अध्यक्ष मल्लले पार्टीभित्र छारे रोग र हल्लिने रोग लागेको बताए ।
त्यस्तै नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य नारद मलासीले नेकपाका नेता कार्यकर्ता र जनप्रतिनिधीहरुले बोल्दा र व्यवहार गर्दा संयमितता अपनाउनु पर्ने धारणा राखे । पार्टीको विधि र पद्धती विपरित सडक, होटल, चोक र सामाजिक सञ्जालमा आफ्नै नेता, कार्यकर्ता र जनप्रतिनिधी विरुद्ध प्रस्तुत हुने, गालिगलौंच गर्ने, विवादको दोहोरी खेल्ने कुरालाई कुपतको संज्ञा दिंदै त्यस्ता कुपत बार्नुपर्नेमा जोड दिए ।
साथै दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधीहरुले कुनै चम्चा (कुरा लगाउने) का कुरा नसुनेर यथार्थ के हो बुझ्न र साझा व्यक्तिको व्यवहार देखाउन पनि आग्रह गरे ।
त्यस्तै अर्का प्रदेश कमिटि सदस्य गणेशदत्त भट्टले नेकपाका नेताहरुले अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई ल्याईते, ब्याईते भन्न व्यवहार हुनु दुःखद भएको बताए ।
त्यसै गरी अर्का प्रदेश कमिटि सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व उप–मेयर प्रेम बहादुर शाहले पार्टी व्यक्तिवादी ढंगले चलेको, आफ्नै पार्टीका नेताले आफ्नै पार्टीका नेतालाई उत्तेजित पार्न नहुने र यसबाट सकारात्मक नतिजा नआउने तथा जनप्रतिनिधीहरुबाट समन्वयको कमि रहेको बताए ।
त्यस्तै अर्का वक्ता नेकपा डोटीका सचिव जङ्ग बिक ‘शैलेन्द्र’ले नेपाल कम्युनिष्ट पार्टी जातीय, वर्गिय, सामाजिक विभिन्न विभेद चिर्दै अगाडी बढेको पार्टी भएकाले सबैले पार्टी के हो भन्ने बुझ्नु जरुरी रहेको बताए । दुइ पार्टी एक भएर नेकपा बनेको अवस्थामा अहिले नै नेकपाको समाजवादको कार्यदिशा तय भई नसकेको र अन्तिम लक्ष्य समाजवाद नै रहेको सचिव बिकले बताए ।
त्यस्तै कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाले गरेका कामकारवाही र प्रगतिबारे पार्टीलाई जानकारी गराउँदै नगरप्रमूख मञ्जु मलासीले आफुहरु स्थानीय तहमा निर्वाचित भईसकेपछि थुप्रै काम भएको बताईन् । तर नेकपाको कार्यक्रम प्रसङ्गमा नेकपाभित्र कार्यकर्ता बाझ्नु सामान्य भएता पनि टप लेवलका नेता बाझ्नु दुःखद बताईन् ।


त्यस्तै नेकपाबाट जितेका नगरका वडा नं. १, ५, ६, ७ र ९ का वडा अध्यक्षहरुले पनि वडामा भए गरेका कामबारे पार्टीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नेकपाका युवा जनार्दन जोशीले अहिले नेकपा दुइ खालका ‘अति’ बाट अघि बढिरहेको बताए । जोशीले एउटा अति जनप्रतिनिधीहरुको र अर्काे अति जनप्रतिनिधीभन्दा माथिका नेता र तलका कार्यकर्ताहरुको भएको बताए । तसर्थ यस्ता ‘अति’लाई चिर्न निरन्तर कार्यक्रम आयोजना गरी प्रशिक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य नरेश मलासीले देश निर्माणको महत्वपूर्ण हिस्सा युवाहरुको काँधमा रहेको र युवाहरुलाई निर्वाचनमा ढालको रुपमा मात्रै प्रयोग गर्ने नभई हरेक विकास निर्माणका कार्यमा निर्णायक भूमिका दिनुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै नेकपा दिपायल सिलगढी नगर संगठन कमिटि अध्यक्ष कर्ण बहादुर बिष्टले पार्टीलाई मजबुद बनाउन एकआपसमा कुरा काट्ने भन्दा पनि सिद्धान्त र विचारमा परिपक्व भई कम्युनिष्टको परिचय दिनसक्नुपर्नेमा जोड दिए । पार्टीभित्रका विकृति, विसङ्गतीको अन्त्य गर्दै अगाडी बढ्न उनले सबैमा आग्रह समेत गरे ।

संगठन विस्तार र सदस्यता नविकरणको कार्यतालिका तयार
यसैबिच नेकपा दिपायल सिलगढी नगर संगठन कमिटिले पार्टिको संगठन विस्तार र सदस्यता नविकरणको कार्यतालिका तयार पारेको छ ।
सो बैठक तथा कार्यक्रमबाट तयार पारिएको कार्यतालिका अनुसार यहि असोज १८ गते वडा नं. १, २० गते वडा नं. २, २२ गते वडा नं. ३, २४ गते वडा नं. ४, २६ गते वडा नं. ५, २८ गते वडा नं. ६, ३० गते वडा नं. ७, कार्तिक २ गते वडा नं. ८ र कार्तिक ३ गते वडा नं. ९ मा कार्यक्रम आयोजना गर्ने जनाईएको छ ।

कार्यक्रममा दुइ व्यक्ति सम्मानित
यसैबिच सोहि कार्यक्रममा दुइ जना व्यक्ति सम्मानित भएका छन् ।
विश्वव्यापी महामारी कोरोनाका कारण गरिएको लकडाउन अवधीमा भारतबाट आउने मानिसहरुलाई आफ्नो ज्यानको जोखिमको प्रवाह नगरी कैलालीको भन्सार नाकामा बसेर दिपायल सिलगढी नगरपालिकाका नगर बस तथा अन्य बसको प्रबन्ध मिलाई मानिसहरुलाई पठाउन खटेकोमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य नरेश मलासी सम्मानित भएका हुन् ।
त्यस्तै वि.सं. २०५४ सालमा साविकको खातिवडा गाउँ विकास समिति वडा नं. ५ मा (हाल दिपायल सिलगढी न.पा.को वडा नं. २ मा गाँभिएको) तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित पदम बहादुर कठायतलाई पनि सम्मान गरिएको हो ।

५७ जना नेकपामा प्रवेश
यसैबिच उक्त कार्यक्रमबाटै दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका ५७ जना नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ । उनिहरुलाई नेकपा डोटी अध्यक्ष चक्र मल्ल, महिला नेतृ मञ्जु मलासी, नेकपा नगर संगठन कमिटि अध्यक्ष कर्ण बिष्ट लगाएतले अबिर टिका र सदस्यता वितरण गरेर पार्टीमा स्वागत गरेका थिए ।

नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागि विभिन्न व्यक्तिहरुले सुझाव तथा गुनासाहरु समेत राखेका थिए ।

Leave A Reply

Your email address will not be published.