डोटीमा ३ सय एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने
असोज १६, डोटी ।
डोटीमा ३ सय जना एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने भएको छ ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह डोटीले उक्त राहत वितरण गर्न लागेको हो ।
सँस्थाको कार्यक्षेत्र अन्तरगत दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडाका गरी १ सय ८० र पूर्वीचौकी गाउँपालिकाका ७ वटै वडाका गरी १ सय २० जनालाई राहत वितरण गरिने मानव अधिकारका लागि महिला, एकल महिला समूह डोटीका जिल्ला संयोजक लक्ष्मी देउवा बमले जानकारी दिइन् ।
सँस्थाले सिमान्तकृत महिलाहरुको आवाज र सहभागिता परियोजना अन्तरगत शुक्रबार आयोजना गरेको कोभिड–१९ का सन्दर्भमा स्थानीय महिला अधिकारकर्मीहरुसँग समन्वय तथा अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिईएको हो ।
सम्बन्धीत स्थानीय तहमा वडाको सिफारिसमा यस वर्षको दशैं पूर्व नै राहत वितरण गर्न लागिएको जनाईएको छ ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह डोटीका अध्यक्ष सरिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले एकल महिलाका अन्य सवालहरुमा समेत छलफल गरेका थिए ।