कर्मचारी अभावकाबिच डोटी प्रशासनको नेतृत्व धान्दै निमित्त प्रजिअ किरण जोशी

1,721

असोज ५, डोटी ।

जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव रहनु अब नौलो विषय होइन ।
सकभर डोटीमा कर्मचारीहरु आउनै नमान्ने, आइहालेमा सक्दो छिटो सरुवा मिलाएर जाने गरेका कारण प्रशासन कार्यालयले सदैव कर्मचारी अभाव झेल्ने गरेको छ ।
समाचार श्रोतका अनुसार डोटीमा प्रमूख जिल्ला अधिकारी आउन प्राय कसैले नरुचाउने गरेको बताइन्छ । श्रोतले भन्यो–‘कोहि आउँछ भने त्यो कर्मचारी पेलिएर आउने गर्छ, कि त ग्रेड बृद्धिका लागि आउँछन्, कि त नयाँ कर्मचारीहरु आउँछन्, ठाउँ रोजेर आउन कोहि रुचाउँदैनन् ।’
यतिबेला पनि जिल्ला प्रशासन कार्यालय डोटीले कर्मचारीको चरम अभाव झेलीरहेको छ ।

राज पत्राङ्कित प्रथम श्रेणीको प्रमूख जिल्ला अधिकारीको दरबन्दी रहेको डोटीमा राज पत्राङ्कित द्वितीय श्रेणीको सहायक प्रमूख जिल्ला अधिकारीको दरबन्दी पनि छ । त्यस्तै दुइ जना राज पत्राङ्कित तृतीय श्रेणीका दुइ जना प्रशासकीय अधिकृतको दरबन्दी छ ।
प्रमूख जिल्ला अधिकारी र दुइ वटै प्रशासकीय अधिकृतको दरबन्दी रिक्त रहेको अवस्थामा सहायक प्रमूख जिल्ला अधिकारी किरण जोशीले यतिबेला जिल्ला प्रशासनको नेतृत्व एक्लैले धानीरहेकी छन् ।
प्रमूख जिल्ला अधिकारी सुनील खनाल सरुवा भएर गएसँगै गत साउन १० गतेदेखि निमित्त प्रजिअको जिम्मेवारी सहित समग्र प्रशासनको नेतृत्व जोशीले धानीरहेकी हुन् ।
खुल्ला कोटामा उप-सचिव पदमा लोक सेवा पास गर्ने सुदूरपश्चिमकै पहिलो महिला समेत रहेकी जोशी गत वर्ष फाल्गुन १० गतेदेखि डोटीमा सहायक प्रमूख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् ।
प्रशासन कार्यालयमा राजपत्र अनङ्कित प्रथम श्रेणीका ७ जना नायव सुब्बाको दरबन्दीमध्ये ५ वटा दरबन्दी रिक्त छ । त्यस्तै राजपत्र अनङ्कित द्वितीय श्रेणीका ४ वटा खरिदारको दरबन्दीमध्ये ३ वटा दरबन्दी रिक्त छ । दुइ वटा कम्प्युटर अपरेटरको दरबन्दी रहेकोमा करारमा जनशक्ति व्यवस्थापन गरिएको छ ।

दरबन्दी अनुसार कर्मचारी अभावकाबिच नागरिकता बनाउने, राहदानी बनाउने कार्यालयीय कामकाजसँगै सार्वजनिक सरोकारका कार्यक्रमहरु भ्याइनभ्याई रहेको निमित्त प्रजिअ जोशीले बताईन् ।
आफु सुदूरपश्चिम प्रदेशको माटोमा जन्म लिएर यसै क्षेत्रमा जनताको सेवा गर्न आफुलाई बढी रुची लाग्ने जोशीले बेला–बेलामा सार्वजनिक कार्यक्रममा अभिव्यक्ति पनि दिने गरेकी छन् ।

सबै कर्मचारीहरुले सुविधायुक्त ठाउँ नै खोज्ने हो भने दुरदराज र भौगोलिक विकट क्षेत्रमा कसले सेवा दिन्छ भन्दै निमित्त प्रजिअ जोशीले कर्मचारीहरुलाई नै प्रतिप्रश्न पनि गरिन् ।

डोटीमा जिल्ला प्रशासन कार्यालय लगाएत विभिन्न महत्वपूर्ण कार्यालयहरुमा प्राय कर्मचारीको अभाव देखिन्छ ।
नजिकको सरकारका रुपमा लिइने जिल्लाका कतिपय स्थानीय तहहरु पनि निमित्त प्रमूख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । केहि स्थानीय तहमा दरबन्दी अनुसार नै प्रमूख प्रशासकीय अधिकृत कार्यरत भए पनि केहि स्थानीय तहहरुले तत्कालिन जिल्ला विकास समितिका विकासे स्थायी गरिएका कर्मचारीहरुबाट समेत कामचलाउ कार्यसम्पादन गरिरहेका छन् ।
दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन गरेर जनताको सेवा प्रवाह गर्न नसक्नुका पछाडी जिल्लाबाट विभिन्न तहमा प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुले चासो नदिनु र उनिहरुको पहुँच नभएको सहजै बुझ्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.