डोटी सायलका ३ बेसाहारा बालकको दीर्घकालिन व्यवस्थापन गरिंदै

एसओएस बालग्राम धनगढीमा राखिने

364

भाद्र २१, डोटी ।

डोटीको सायल गाउँपालिका वडा नं. ६ नारा गाउँका बेसाहारा ३ जना बालकहरुको दीर्घकालिन व्यवस्थापन गरिने भएको छ ।

लामो समयको बिरामीका कारण ५५ वर्षे बुबा बाजी खाँतीको करिब १५ महिना पहिले मृत्यु भएको र भारतको उडिसा माइती भएकी आमा सँगीता गत फाल्गुन महिनादेखि छोडेर सम्पर्कविहीन भएपछि बेसाहारा भएका ३ बालकहरुलाई कैलालीको एसओएस बालग्राममा व्यवस्थापन गर्ने गरी अहिले उनिहरुलाई घरबाट ल्याईएको छ ।

डोटीबाट प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको पहलमा सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा उनिहरुको दीर्घकालिन व्यवस्थापनका लागि कैलाली लैजान लागिएको हो ।

ती बालकको पीडादायी अवस्था बाहिर ल्याउने स्थानीय समाजसेवी युवा दिपक खाँतीका अनुसार सायल गाउँपालिका डोटीका अध्यक्ष तेजबहादुर डुम्रेल, सायल गा.पा. ६ का वडा अध्यक्ष धन बहादुर साउँद र स्थानीय समाजसेवी युवा दिपक खाँती सहितको टोलीले अहिले बाटोमा ल्याईरहेका छन् ।

ती बालकहरुलाई कैलाली लैजानका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरी र बाल हेल्प लाइन धनगढीका प्रतिनिधी विष्णुमाया पौडेल गरी २ जनाको टोली सिलगढी पुगेको सायल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष धन बहादुर साउँदले जानकारी दिए ।

ती बालकहरुलाई कैलाली लैजान आवश्यक पर्ने कागजात पूरा भैसकेको भए आजै र थप प्रमाण बनाउनुपर्ने भएमा कागजात पूरा गरेपछि कैलाली लगिने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत गिरीले नजर अनलाईनलाई बताईन् ।

कोरोना महामारीलाई मध्यनजर गरी ती बालकहरुलाई कैलालीमा लगेपछि १४ दिन जति बाल हेल्प लाइनले छुट्टै राखेर हेरचाह गर्नेछ भने तत्पश्चात उचित लालनपालन र शिक्षा, दिक्षाका लागि एसओएस बालग्राम धनगढीमा व्यवस्थापन गरिने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत गिरीले बताईन् ।

यद्यपी ती ३ जना बालकहरु र उनीहरुको दीर्घकालिन व्यवस्थापनमा जुटेका युवा दिपक खाँतीको कोरोना परीक्षणका लागि गत विहीबार स्वाव संकलन गरिएकोमा हिजो शनिबार चारै जनाको नतिजा नेगेटिभ आइसकेको छ ।

Leave A Reply

Your email address will not be published.